मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ । पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन् । तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ ।
राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए । तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।