मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । चिसोले खुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हो । शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिए । चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाई भएको बताइएको छ ।
चिसोले बालबालिका तथा बृद्धबृद्धाहरुलाई बढी प्रभावित बनाएको छ । लुक्लाको न्यूनतम तापक्रम माइनस १।६ डिग्री सेल्सियस भन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस २ भन्दा कम रहेको बताइएको छ । तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको हो । खुम्बु क्षेत्रसहित सोलुदूधकुण्ड नगरपालिकाका अधिकांश वडाहरुमा पछिल्लो समयमा चिसो बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ । दरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिकेडाँडा, टाक्सिन्दु, वेनी, जुभिङ्गलगायत आधादर्जन गाउँपालिकासहित आसपासका डाँडाहरुमा सेताम्मे तुसारो पर्दा चिसोमा अत्यधिक बढेको हो ।