भरतपुरमा जगन्नाथ (भुईंकटहर) समूहमा व्यापक फुट

  कार्तिक ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक ८।गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहमा व्यापक फुट आएको छ ।

जगन्नाथ पौडेल र शम्भु अर्यालहरू एकातिर उभिएका छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल अर्कोतिर भएका छन् ।मेयरमा उठेको अनुहार नै संघीय निर्वाचनमा पनि उठ्दा राम्रो सन्देश नजाने भएकोले चेन्ज गरौं भन्दा नमानेपछि आफूहरू त्यहाँ रहन उपयुक्त नभएको खरेलले बताइन् ।

मेयरमा उठ्दा पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र मिना खरेल सर्मथक बसेका थिए । भुईंकटहर चुनाव चिह्न पाएका पौडेलले १४ हजारभन्दा बढी मत ल्याएका थिए ।‘पौडेल सल्लाहमा नचलेको र सधैं आफूले मात्रै अवसर पाउनुपर्छ भन्ने मत राखेपछि त्यसमा रहन सकिएन’ नेता खरेलले भनिन्, ‘छँदा खाँदाको महासमिति सदस्य पद त्याँगेर जोखिम उठाएको त मैले हो नि !’

भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर असोज २३ गते उम्मेदवारी दर्ता गरेका छन् । उनको पक्षमा तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल र अर्का नेता आनन्दराज राउत छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर