माछापुच्छ्रे बैंकले ‘शाखारहित बैंकिङ सेवा’ कार्यक्रममा करोडौं हिनामिना गरेको खुलासा

  असोज २८, २०७९

रूपन्देहीको सम्मरीमाई–५ की शारदा लोधले श्रीमान्ले कतारबाट कमाएर पठाएको पैसा गाउँमै खोलिएको एउटा बैंकको सेवा काउन्टरमा जम्मा गर्न थालिन् । ४ लाखभन्दा धेरै रुपैयाँ जम्मा गरेको बैंकको भौचर र एटीएम कार्ड पनि उनीसँग सुरक्षित छ । सम्मरीमाई–५, रोहिणीहवाकै दयाराम अहिरको अवस्था पनि उस्तै छ । ठूला ठेकेदारसँग केही काम माग्दै सानोतिनो पेटी ठेकेदारका रूपमा वर्षौंदेखि काम गर्दै कमाएर जम्मा गरेको पैसा उनको पनि डुबेको छ ।

गाउँमै खोलिएको बैंकको सेवा काउन्टरमार्फत जम्मा गरेको १५ लाख ८० हजार रुपैयाँको अहिले अत्तोपत्तो छैन । उक्त रकम जम्मा गरेका २१ वटा बैंक भौचर उनीसँग सुरक्षित छन् ।शारदा र दयाराम मात्र होइन, यस क्षेत्रका १ हजारभन्दा धेरै विपन्न परिवारको अवस्था उस्तै छ । माछापुच्छ्रे बैंक लिमिटेडले ०७५ सालमा रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवामा सञ्चालन गरेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौं रुपैयाँ हिनामिना भएको खुलेको छ ।

जम्मा गरेको निक्षेपको अवस्था अलपत्र छ । उक्त कार्यालयमा केही बदमासी भएको चाल पाएपछि बैंकले उक्त सेवा कार्यालय नै एउटा सूचना टाँसेर बन्द गरिदिएको छ ।जम्मा गरेको पैसा उनले निकालेकी छैनन् । तर उनले जम्मा गरेको पैसा बैंक खातामा भने छैन । ‘गत साउनमा केही पैसा आवश्यक परेर लिन खोज्दा जम्मा गरेको पैसा बैंकमा हुँदै नभएको बल्ल थाहा पाएँ,’ शारदाले भनिन्, ‘बैंकमा पैसा डुबेको जानकारी विदेशमा रहेका श्रीमान्लाई गराउँदा रातदिन गाली खाएर बसिरहेकी छु ।’स्थानीय पीडितका अनुसार जम्मा गरेको रकम बैंकमा नदेखिएपछि केहीले बैंकको भैरहवा शाखामा आई मौखिक उजुरी गरे । भैरहवा शाखाले निक्षेपकर्ताले रकम जम्मा गरेको भौचरअनुरूप खातामा चेक गर्दा रकम जम्मा नभएको थाहा पायो ।

भैरहवा शाखाका व्यवस्थापकले बैंकको लुम्बिनी शाखामा गई निवेदन दिन भने । पीडित लिखित निवेदनका साथ लुम्बिनी शाखामा पुगे । तर उक्त शाखा ‘हामीले केही गर्न सक्दैनौं’ भनी पन्छियो ।हामीले बुटवलस्थित बैंकको प्रदेश शाखाका प्रमुखसँग कुरा गर्दा उनले साता दिनमा सबैको हिसाब मिलाउने भन्दै अन्यत्र यसबारेमा कुनै जानकारी वा हल्ला नगर्न भने,’ दयारामले भने, ‘हामी पैसा फिर्ता पाउने आशामा चुपचाप बस्यौं । दुई महिनादेखि रकम फिर्ता लिन धाइरहेका छौं । हामीलाई आश्वासन दिने मात्रै काम भइरहेको छ ।’ उक्त सेवा कार्यालयबाट कति निक्षेपकर्ताको कति रकम हिनामिना भएको हो भन्नेबारे आधिकारिक तथ्यांक भने बाहिर आएको छैन ।

माछापुच्छ्रे बैंकको भैरहवा शाखा र लुम्बिनी प्रदेश शाखाका प्रमुख यसबारे आफूहरूले आधिकारिक रूपमा केही बोल्न नमिल्ने बताउँछन् । स्थानीय पीडित भने सम्मरीमाई गाउँपालिका–५ र नजिकै पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजानामा पनि सञ्चालित शाखारहित बैंकिङ सेवा कार्यालयबाट समेत गरी १ हजारभन्दा धेरै निक्षेपकर्ता र उनीहरूबाट करिब ३ करोड रुपैयाँ जम्मा भएको दाबी गर्छन् ।स्थानीय निरञ्जन पाठकलाई शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न बैंकले एजेन्ट तोकेर कारोबार गर्न जिम्मा लगाएको र पछि त्यस कार्यालयको कारोबार सन्तोषजनक नदेखिएपछि शाखा बन्द गरी छानबिन तथा अनुसन्धान गरिरहेको माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसीले जनाए । ‘यसबारे विस्तृत बुझ्नुपरे बैंकको केन्द्रीय कार्यालयमै प्रवक्तासँग सम्पर्क राख्नुपर्छ,’ उनले भने, ‘पीडित ग्राहकको उजुरी आयो भने हामीले अनुसन्धानका लागि बैंकको केन्द्रीय कार्यालयमा पठाउँछौं ।’केसीले यसो भनिरहँदा उनकै सामु कतै पनि उजुरीसमेत नलिइएको भन्दै एक जना पीडित ग्राहक हातमा निवेदन लिएर उभिएका थिए । उनलाई पनि केसीले यसबारे अनुसन्धान भइरहेको भन्दै केन्द्रमै गएर उजुरी बुझाउन भनिरहेका थिए ।

शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न बैंकले तोकेका एजेन्ट तथा प्रतिनिधि पाठकले भने बैंकसँग आफूले गरेको सम्झौता २ वर्षको मात्र रहेको र त्यस अवधिमा यस खालका कुनै पनि गुनासो नआएको दाबी गरे । ‘०७५ सालमा सेवा सञ्चालन गर्न मसँग सम्झौता भएपछि कार्यालय सञ्चालनका लागि सिकन्दर ठाकुर नामका स्थानीयलाई बैंकसमेतको रोहवरमा कर्मचारी नियुक्त गरिएको हो,’ उनले भने, ‘मसँगको सम्झौता सकिएपछि सिकन्दरले नै सञ्चालन गरेका हुन् ।’यता माछापुच्छ्रे बैंकका प्रवक्ता सुनिल खतिवडाले भने यसबारे आधिकारिक रूपमा कुनै पनि उजुरी वा गुनासो नआएको र दुईचार दिनअघि मात्र अनौपचारिक रूपमा बदमासी भएको सुन्नमा आएकाले बैंकले आफ्नै ढंगले अनुसन्धान र छानबिन थालेको बताए ।

‘बैंकका तर्फबाट सेवा कार्यालयमा बेलाबेल गरिने अनुगमनमा त्यहाँको कारोबार राम्रो नभएको देखिएपछि सेवा कार्यालय बन्द गरिएको हो,’ खतिवडाले भने, ‘हाम्रो आफ्नो प्रारम्भिक छानबिनबाट बदमासी भएकै देखिए प्रशासनिक सहयोग लिएर छानबिन अघि बढाउँछौं ।’उक्त सेवा कार्यालयबाट स्थानीय ठगिएको जानकारी प्राप्त भएपछि समाचार संकलनका क्रममा बिहीबार सञ्चारकर्मीहरू उक्त सेवा केन्द्र रहेको स्थानमा पुग्दा पीडित स्थानीयको भीडले गाउँमा सानोतिनो हाटबजार लागेको भान हुन्थ्यो । सबैको हातहातमा आफूले जम्मा गरेको रकमको बैंक भौचर र बैंकको एटीएम कार्डसमेत थियो । स्थानीय पीडित आफ्नो डुबेको रकम फिर्ता पाउने आशाले सञ्चारकर्मीलाई आ–आफ्नो नाम लेखाउँदै बैंक भौचर देखाइरहेका थिए ।

-ईकान्तिपुर डटकमबाट

तपाईंको प्रतिक्रिया

थप खबर