मिडियाबाजी डटकम काठमाडौं,भाद्र २५। प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवारको लागि गुन्डा नाइके गणेश लामा, बलराम सापकोटा (बले), राजु गोर्खाली र शुक्रराज तामाङ कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् । अघिल्लोपटक पराजित गणेश लामा यसपटक पनि काभ्रे १ को (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्यका रूपमा निर्वाचित लामा विजय गच्छदारनिकट मानिन्छन् ।
गुन्डागर्दी पृष्ठभूमिका उनी कुनै वेला दीपक मनाङेका प्रतिस्पर्धीका रूपमा समेत चिनिन्थे । गुन्डा नाइके राजु गोर्खाली पनि प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार सिफारिसमा परेका छन् । कांग्रेस सिन्धुपाल्चोक जिल्ला समितिले उनको नाम क्षेत्र नम्बर २ सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चाबहिल क्षेत्र उनको गुन्डागर्दीको इलाका मानिन्थ्यो । बालुवा ठेक्कामा कब्जा जमाएका उनी रात्रिकालीन व्यवसायमा संलग्न थिए । राकेश लिम्बूको हत्या अभियोगमा दोषी ठहर भएपछि लामो समय फरार भएका उनी पछि काठमाडौंबाटै पक्राउ परेका थिए ।
कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका उनले पनि यसपटकको चुनावमा टिकट पाउने सम्भावना बढी छ । उनी ०७४ को निर्वाचनमा मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । आउँदो प्रदेश सभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट कांग्रेसको समर्थनमा चुनाव उठ्ने पक्का भइसकेको छ । ०७४ मा एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका उनले यसपटक प्रतिनिधिसभामा कांग्रेसलाई सघाउने र प्रदेश सभामा आफू लड्ने सहमति गरेका छन् । प्रहरीले गुन्डा नाइकेका रूपमा हेर्ने मिलन गुरुङ उर्फ चक्रे मिलन र परशुराम बस्नेत उम्मेदवार सिफारिसमा परेका छन् । चक्रे मिलनलाई एमाले क्षेत्रीय कमिटीले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । कुनै वेला काठमाडौंको चक्रपथ क्षेत्र उनको ‘इलाका’का रूपमा परिचित थियो । सो क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको आदि आरोपमा उनी पटक–पटक पक्राउ पर्दै छुटेका थिए ।
गुन्डा नाइकेविरुद्ध प्रहरीले इन्काउन्टर अभियान नै चलाउन थालेपछि निष्क्रिय बनेका उनी पछिल्लो समय गोरखा क्षेत्रमा सक्रिय छन् । कतिपय ठाउँमा कांग्रेसले ‘स्वतन्त्र’ चुनाव लड्न चाहेका गुन्डा नाइकेसम्म पनि सहकार्य गर्ने सहमति गरेको छ । गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने तयारीमा छन् । मन्त्री हुँदा पनि गुन्डा नाइकेको छवि मेटिएको छैन । कांग्रेसबाट सांसद बन्ने दाउमा छन्, अर्का गुन्डा नाइके बलराम सापकोटा (बले) । उनी काभ्रे १ को प्रदेश सभा (क) बाट समानुपातिक कोटामा सांसद सिफारिसमा परेका छन् । एमालेमा रहेका उनी सांसद बनाउने सर्तमै एकाएक कांग्रेस प्रवेश गरेका छन् । कुनै वेला काठमाडौंको क्यासिनोभित्र नेपाली भिœयाउन उनको सक्रिय भूमिका मानिन्छ । विराटनगरमा गुन्डा नाइकेको परिचय बनाएका बस्नेत पनि प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् । एमालेले मोरङ क्षेत्र नम्बर ६ (ख)बाट उनलाई उम्मेदवार सिफारिस गरेको हो ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको निर्वाचन परिचालन सचिवालयको सदस्यसमेत रहेका उनको नाम सिफारिस सूचीको पहिलो नम्बरमा छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाएका उनी ओलीनिकट मानिन्छन् । ०६९ मा पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।