२० वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् ।कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।चेकजाँचका क्रममा मिक्चरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम् १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन् तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।ऐनको व्यवस्था अनुसार १०० ग्राम सुनको १००५६५ रुपैयाँ राजस्व तिर्नु पर्ने भए पनि ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ ।