१९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा उम्मेदवार नभएको पदमा पनि चुनाव चिह्न रहने भएको छ ।
निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवार नरहेको दलको चुनाव चिह्न नराख्ने निर्णय गरेको थियो । तर कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका ७ पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सातवटै चुनाव चिह्न रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ ।यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने प्रवक्ता पौडेलले जानकारी दिए ।‘प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी रह्यो भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो, सातवटै चुनाव चिह्न रहने भयो’ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने ।’महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ पनि सुरु भइसकेको प्रवक्ता पौडेलले बताए ।