सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

  श्रावण ०४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३।  सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापर्बाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याएको हो।

आयोगले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सि–चेकका लागि गत साउन ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँचेका थिए। जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिवेदनअनुसार जहाज दुर्घटनाको कारण प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको उल्लेख छ। जहाज टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग (नोज) अत्याधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजले गति घटेर ‘डीप स्टल’भएर दुर्घटना भएको जनाइएको छ। जहाजको अगाडिको भाग अत्याधिक माथि उचालिनुलाई पिट रेट बढी भनिन्छ। डीप स्टलको अवस्थामा जहाजको अगाडिको भाग अत्याधिक उचालिएर पखेटाहरु उचालिएर हावाको बहाव ठप्प हुन्छ र जस्ले गर्दा जहाजले उचाइलिन सक्दैन। जहाज टेकअफ गर्ने क्रममा अत्याधिक गतिका साथ सिधा माथि उठेको र जहाजलाई डिप स्टल मा लग्दा जहाज खसेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार जहाज यसरी अगाडि बढाउँदा गलत ‘स्विचकार्ड’का आधारमा गतिको समेत गलत गणना भएको देखिन्छ। जहाजको तौल १८ हजार ५०० किलो थियो। त्यसका लागि बनाइएको स्पिडकार्डमा उडान भर्न आवश्यक ‘भी–स्पीड’ नै गलत उल्लेख भएको थियो।

स्पिडकार्ड गलत बनेको गल्ती कसैको नजरमा नपर्नु र उक्त स्पिडकार्ड पुस्तिका स्वीकृतसमेत नभएको पाइएको छ। वायुसेवा कम्पनीले उडान भर्ने क्रममा देखिएको उच्च पिच रेटका पुराना घटना पहिचान गर्दै त्यसमा सुधार ल्याएको समेत देखिएको छैन। जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ। जसलाई ‘भी–स्पीड’ भनिन्छ। यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

जहाज दुर्घटनामा पर्नुभन्दा ३४ दिन अगाडिदेखि ग्राउन्डेड रहेको समेत देखिएको छ। जहाज उडेको एक मिनेट भित्रै दाहिने पखेटा पहिलो पटक जमिनमा ठोक्किएको प्रतिवेदनमा भनिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर