सूर्यदर्शन सहकारी ठगी प्रकरण : पक्राउ परेकाहरुको आजैबाट थुनछेक बहस सुरु

  पुष १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १६ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जोडिएका सात जनाको बयान सकिएको हो । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।

उनीहरुसँगको बयान सकिएसँगै आज नै थुनछेक बहस हुने अदालतका श्रेस्तेदार खनालले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध एक अर्ब ५१ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर