सार्वजनिक ऋण २७ खर्ब पुग्यो, एक महिनामै थपियो १४ अर्ब

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । मुलुकमा सार्वजनिक ऋण बढेको बढ्यै छ । सार्वजनिक ऋण चुलिँदै जाँदा मुलुकलाई व्ययभार थपिंदै गएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सार्वजनिक ऋण २७ खर्ब नजिक पुगेको छ । श्रावणमा मात्रै १४ अर्ब २ करोड ऋण थप भएको छ ।

योसँगै असारमा कूल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकोमा श्रावण मसान्तसम्ममा थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २६ खर्व ८३ अर्ब ६० करोड पुगेको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४३.९४ प्रतिशत हो । कुल सार्वजनिक ऋणमा श्रावण मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत छ । चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ ।

उक्त लक्ष्यमध्ये श्रावण मसान्तसम्ममा ४४ अर्ब ५७ करोड ऋण प्राप्ति भएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । कार्यालयले सार्वजनिक गरेको विवरणमा भनिएको छ–‘वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७.४८ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र वाह्य ऋण प्राप्तिको प्रगति क्रमशः ११.०५ र १.९६ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमशः ८९.७४ र १०.२६ प्रतिशत रहेको छ ।’

यस्तै चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएको थियो । जसमा श्रावण मसान्तसम्म ३६ अर्ब ६८ करोड भुक्तानी भएको ऋण व्यवस्थापनको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर