सहीद स्मारक कलेजको प्रस्तावित नयाँ भवन उद्घाटन

  असोज १४, २०८०

मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १४ ।   कीर्तिपुर नगरपालिका वडा नं १० नयाँबजारमा रहेको सहीद स्मारक कलेजको प्रस्तावित नयाँ भवन निर्माणको शिलान्यास साथै प्रस्तावित नक्साको उदघाटन कार्यक्रम सम्पन्न भयो ।
सहीद स्मारक कलेज कीर्तिपुर भेगको सबै भन्दा पुरानो सामुदायिक कलेज हो । करिब तेत्तिस वर्ष लामो इतिहास रहेको यस कलेजमा अहिले १६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको चाप बढेसँगै विद्यमान भौतिक संरचनाको अभाव पूर्तिका लागि अत्याधुनिक प्रविधिसहित सम्पन्न हुने विद्यार्थी मैत्री नयाँ भवनको शिलान्यास भएको छ ।

प्रस्तावित भवन करिव आठ करोड लगानीमा निर्माण सम्पन्न हुने कुरा कलेजका प्रिन्सिपल मिलनमान महर्जनले उक्त कार्यक्रममा बताए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर सुनीता महर्जनले नगरपालिकाले यस भवन निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै कृषि विकास बैंकका सिइओ प्रताप सुवेदीले कलेजको गौरवलाई उचाइमा लैजानका लागि क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिलाई शुभकामना दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग गरिरहेकोे र व्यक्तिगत संस्थागत रूपमा अब पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष शम्भुमान महर्जनले देउराली क्याम्पसको नाममा आरम्भ भएको यो कलेज आज व्यवस्थित र परिपक्व भएको छ भन्दै कीर्तिपुरको शिक्षा क्षेत्रमा कलेजले पुराएको योगदान तथा कलेजको विकासका लागि धेरै व्यक्तिको साथ सहयोग रहेको प्रष्ट पारे । यस क्रममा नयाँ भवन निर्माणका लागि चार करोड रकमको व्यवस्था भइसकेको र अब चार करोड पनि नगरपालिका,कलेज तथाा अन्य माध्यमबाट जुटाइ भवन सम्पन्न गरिने विश्वास व्यक्त गरे । यसरी नै स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि नयाँ तथा प्राविधिक विषय थप गर्ने साथै नगरपालिका र त्रिभुवन विश्वविद्यालय बिच अन्तक्र्रिया गर्दै कीर्तिपुर क्षेत्रलाई शिक्षा क्षेत्रको रूपमा चिनाउन पहल गर्नुपर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा कलेज सभा सदस्य,व्यवस्थापन समितिका प्रतिनिधि, विद्यार्थी, शिक्षक, नगरपालिकाका सदस्य,स्थानीय बुद्धिजीवी,पत्रकार आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न महानुभावहहरूले नयाँ भवनको निर्माण समयमा नै सम्पन्न हुने विश्वास सहित शुभकामना व्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर