सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसे : मन्त्री न्यौपाने

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको टिप्पणी गरेकी छन् ।

आज (शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् । उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइन् ।

उनकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । उनीहरु आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाइरहेका हुन्छन् । यसले सरकारले चाहेअनुसारको नतिजा दिन सकेको छैन् ।

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रस्ताव पास गरेको छ ।

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धि व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायबसुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

खरिदार तहमा खुला प्रतिष्पर्धा हुनेछन् भने खरिदार तहमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायव सुब्बा पदमा खुला प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिष्पर्धाबाट सेवा प्रवेश पाइनेछ । शाखा अधिकृतमा ७० बाट घटाएर ६० प्रतिशत खुला परीक्षाबाट पदपूर्ति गरिने व्यवस्था राखिएको छ ।

यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यस्तै पास भएको विद्येयकमा अब उपसचिवमा भिड्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनु पर्दछ ।

तपाईंको प्रतिक्रिया

थप खबर