मिडियाबाजी डटकम काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतको गठ्ठाघरस्थित घरमा अज्ञात समूह प्रवेश गरी ढोका फोड्नुका साथै परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको छ । अज्ञात समूहले शनिबार बिहान ३ बजेतिर घरमा प्रवेश गरी बस्नेतका एक छोरालाई अपहरण प्रयाससमेत गरेको बस्नेतका परिवारले जनाएको छ ।
बस्नेत कामको सिलसिलामा पोखरामा थिए ।बस्नेतकी श्रीमती उषा कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो । त्यसपछि ढोका फोडेरभित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको उषाले बताइन् । उषाका अनुसार ५ जनाको समूहमा आएकामध्ये २ जनाले मास्क लगाएका थिएनन् ।उषाले भनिन्, ‘राति नचिनेका ५ जनाघरको ढोका फोडेर आएको थियो ।
पेस्तोल र खुकुरी देखाएर एउटा छोरालाई हातपात गर्दै अपहरण गर्न खोजेको थियो । ए यो हैन रहेछ भन्दै धम्क्याएर हिँडे ।’त्यसअघि भित्र पस्न उक्त समूहले ढोका फोडेको थियो । तलका दुइटा तलामा भाडामा बस्नेलाई पनि ढोकामा चुकुल लगाएर तेस्रो तलामा पुगेको उनले बताइन् । बस्नेतको घरमा जानुअघि मूल सडकस्थित एक स्थानीय व्यापारीलाई घर सोधीखोजी गरेको पनि खुलेको छ ।
यता भक्तपुर प्रहरी परिसरका उपरीक्षक (एसपी) प्रजित केसीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘अज्ञात समूह घरभित्र प्रवेश गरेर परिवारका सदस्यलाई धम्क्याएको भन्ने खबर आएको थियो, त्यसपछि प्रहरी टोली खटिएर अनुसन्धान अघि बढाइसकेको छ ।’