मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । प्रतिनिधि सभाका सभामुख पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ । त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।
सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभामा २७५ जना सांसद छन्। सभामुख चयन नभएकोले ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन् । सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन् । गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुख र राष्ट्रपतिलगायत पदमा सहमतिअनुसार नै जान आफूहरू सकारात्मक रहेको बताइरहेका छन् ।