मिडियाबाजी डटकम काठमाडौँ,जेष्ठ ४। इन्टेग्रिटी स्कुलले इमानदारिताको अभ्यास गर्ने र सदाचारितालाई स्थापित गर्ने भनी सार्वजनिक गरेको कर्मचारीनै करोडौं रुपैयाँ ठगीमा फरार रहेको खुलेको छ ।
फरार लुइटेल २०२२ ब्याचको इन्टेग्रिटी आइकनको स्कोलर भएकी वेबसाइटमा स्पष्ट देखिन्छ। छैटौं तहकी अधिकृत लुइटेलले झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भई इटहरी उपमहानगरपालिका आएपछि सरकारी पहुँचको दुरुपयोग गर्दै करोडौं रुपैयाँ ठगेको खुलेको छ।लुइँटेलले सेवाग्राही, व्यवसायी, सहकर्मी र जनप्रतिनिधिसहित करिब दुई सय जनाको ६ करोडबढि रकम ठगेर फरार रहेको भनि प्रहरी कार्यालयमा उजुरी समेत परेको छ ।

लुइँटेल गत भदौ ६ गतेदेखि इटहरी उपमहानगरपालिकामा कार्यरत रहेकोमा ६३ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । त्यसअघि उनी झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत रहँदादेखि नै पारिवारिक समस्या देखाउँदै सेवाग्राही, व्यवसायी, सहकर्मी र जनप्रतिधिसँग रकम उठाउने गरेको उजुरी दिनेहरूले बताएका छन् ।
अर्जुनधारा नगरपालिकामा रहँदा समेत लुइटेलले करिब ३ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिएको छ।इटहरीमा मौखिक बिदामा बसेकी सस्मिता ९० दिनभित्र कार्यालय नआए कानुनी रूपमा ‘फरार’ घोषणा गर्ने तयारी उपमहानगरपालिकाको छ।
अदालतमा मुद्दा परेपनि उनले कार्यालयमा कुनै जानकारी दिएकी छैनन्। मोबाइल फोन पनि उठाउँदिनन् वा संक्षिप्त जवाफ दिएर सम्पर्कविहीन छिन्।पीडितहरूले अदालतमा मुद्दा दायर गरिसकेका छन्। अदालतले सस्मिताको तीन पुस्ते विवरण मागेको छ तर उपमहानगरपालिकाले हालसम्म विवरण दिन सकेको छैन। प्रहरी अनुसन्धान सुरु भएतापनि सस्मिता सम्पर्कविहीन भएकाले अनुसन्धानमा ढिलाइ भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले मिडियाबाजीलाई जानकारी दिएका छन् । “पक्राउ अनुमति लिएर खोजीको प्रक्रिया अघि बढ्दैछ,” उनले भने।