मिडियाबाजी डटकम काठमाडौँ, असार १५ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच ‘नोकझोंक’ भएको छ ।
आज (आइतबार) को बैठकमा उनीहरुबीच भिजिट भिसा प्रकरणका विषयमा नोकझोक चलेको हो । सुुरुमा बोलेका अर्यालले आरोप लगाउन थालेपछि कांग्रेस सांसद खतिवडा बीचमै उठेका थिए । तर सभामुख देवराज घिमिरेले खतिवडालाई रोकेर अर्यालको समय सकिएपछि बोल्न दिए ।
सांसद अर्यालले सुमिरे टुर एन्ड ड्राभल्ससम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । उनले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको उक्त अभिव्यक्ति हटाउन माग गरेका हुन् । शनिबारको बैठकमा खतिवडाले सुमिरेले भिजिट भिसाका नाममा बदमासी गरिरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका थिए । ‘सुमिरे टुर एन्ड ड्राभल्स मेरो हो । मेरो समय ठिक चलेको छ। अरूको घडी बिग्रिएको छ भने के भनौ’, अर्यालले भने, ‘कसैको निराधार आरोप संसदको रेकर्डबाट हटिनु पर्छ ।’