मिडियाबाजी डटकम ८ वैशाख , काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२ करोड ५० लाख अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरु लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरु चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।
सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरुले उक्त नवीनतम सहायतामा एन्टी–ट्यांक निर्देशित मिसाइलहरु, एन्टी–ट्यांक माइनहरु र एटी–४ एन्टी–आर्मर हतियारहरु पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरु युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरुमा रहेका रुसी स्थल सेनाहरुलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ ।
युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरुको बुझाइ छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखहरुलाई विश्वभर रहेको रुसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।
रासस–एएनआई