मिडियाबाजी डटकम काठमाडौँ, असार २६ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरूमाथि गरेको कारबाही अवैधानिक र विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ।
आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन गरेको आरोप पनि लगाएको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नु पर्नेमा सो अनुसार नभएको बताए ।
नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए । बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय भएको विषयमा पनि छलफल भएको सांसद बजगाईंले जानकारी दिए ।