मिडियाबाजी डटकम काठमाडौँ, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबलाउन तमाम शक्ति लागेको आरोप लगाएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘भड्काउने मानिसहरू थुप्रै छन् । देशमा शान्ति सुव्यवस्था खलबलियोस् भन्ने, देशलाई प्रतिगमनतिर लैजाने,’ प्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्रतर्फ लैजाने, राजतन्त्र भन्नुस् वा राणातन्त्रको भन्नुस् । मौका पाउँदा उस्तै उस्तै हुन् ।’ राणाहरूले मौका पाउँदा जे गरे राजाहरूले मौका पाउँदा पनि त्यही गरेको उनले बताएका छन् ।
उनले भने, ‘राजाहरूले पनि मौका पाउँदा गरेकै हुन् । ०१७ साल लगाएकै हुन् । ०५८ सालका दरबार हत्याकाण्ड भए, त्यसपछिका घटनाक्रमहरू, जनताका अधिकार खोसेर, नेतालाई थुनेर, मुद्दा लगाएर, निर्वाचित प्रधानमन्त्रीलाई हटाएर, ०१७ सालका जस्तै जस्तै घोषणा, क्रियाकलाप गरेको हामीले देखेका छौँ । त्यस्तै अँध्यारा दिन फर्काउन लागेका छन् ।’