मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको रिट न्यायाधीश सागर विष्टको इजलासमा परेको छ ।
बिगो बुझाएर पनि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा पुगेका हुन् ।
रुपन्देही अदालतले रिहा नगरेपछि यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए । आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् ।
यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।
सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदन साथ पेस गरेका थिए ।
जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो । यस्तै यसअघि रुपन्देही अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च र सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो । तर यो मुद्दाको प्रकृति विचार गर्दा छिटो छरितो निरुपण हुन उचित देखिएको भन्दै यथाशिघ्र काम कारबाही गर्नू भनी जिल्लाले आदेश गरेको थियो । रवि अहिले ललितपुरको नख्खु कारागारमा छन् ।