मिडियाबाजी डटकम काठमाडौँ, साउन १० । राष्ट्रिय युवा संघले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका लुम्बिनी अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ ।
सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनु पर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।
खरेलले भने आफूमाथि पूर्वाग्रही तरिकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एक वर्षका लागि निलम्बन गरेको पत्र पठाएका छन्।
उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ (क) र (ख) को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै एक वर्षका लागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ । तर, एक पदाधिकारीका अनुसार युवा संघको पदाधिकारी बैठक साउन ९ मा बसेकै छैन् ।