युक्रेनसँग सहमति गर्न रुसलाई दुई हप्ताको ‘अल्टिमेटम’

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिएका छन्।

ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने साहसिक निर्णय लिने चेतावनी दिएको बीबीसीले जनाएको छ। गएको अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पको यो बयान आएको हो।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्वपूर्ण निर्णय लिने र त्यो ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै हुन सक्ने बताए । ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले रुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट आफू खुशी नभएको उल्लेख गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत गर्दै दुवै नेताहरू सँगै बस्नुपर्नेमा जोड दिए । उनले आफ्नो कार्यकालमा सात वटा युद्ध रोकेको र तीन वटा सम्भावित युद्धलाई टारेको दाबीलाई फेरि दोहो¥याएका छन् ।

यसअघि अगस्ट १८ मा यक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउसको भ्रमण गरेका थिए । जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताएका थिए ।

यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस–युक्रेन युद्धविराममा सहमत हुन सकेन । यसैबीच ट्रम्पले युक्रेनको एक अमेरिकी कारखानामा भर्खरै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरेको खबरमा उल्लेख छ । यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कामदारहरू घाइते भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर