मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ ।
यही असार ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिए ।
बैठकले भिजिट भिसा प्रकरणका सम्बन्धमा छानबिन गर्न नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी सात सदस्यीय उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ गठन गरेको छ । त्यसैगरी सरकारले उद्योग वाणिज्य प्रवद्र्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने, यही असार १५ देखि १९ गतेसम्म स्पेनको सेभिल्लामा आयोजना हुने अनलकिङ वाटर एन्ड स्यानिटेशन फाइनान्सिङ थ्रु द हेड्स अफ स्टेट इनिसिएटिभ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ ।