मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । मन्त्रिपरिषद बैठकका १५ वटा निर्णय सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन् ।
निर्णयहरूमा सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न कर्जा असुली न्यायाधीकरण गठन गरिएको छ । सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गरिएको हो । बैठकले उक्त न्यायाधीकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
