मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षासमेत भैरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।