मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३० । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक भिडियो बनाउनेले सजाय पाउनै पर्ने बताएकी छिन्।
आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया शुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै न्याय खोजेको बताएकी छिन्।
‘उक्त भ्रामक भिडियो पोष्ट गर्नेविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानूनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुशरण गर्ने नै हो’, उनले लेखेकी छिन्। उनले आफूलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा भएको भन्दै मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने तर्क गरेकी छिन् । ‘पार्टी (कांग्रेस) को एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा राम्ररी थाहा छ’, उनले भनेकी छिन्, ‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनु हुँदैन भन्ने मेरो धारणा हो।’