माओवादीले किन नदिने भयो राज्य व्यवस्था समिति सभापतिमा उम्मेदवारी ?

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० ।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी नदिने भएको छ ।

यो समितिको सभापति पदका लागि मनोनयन दर्ता आज हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, हितराज पाण्डे र दुर्गा राई सदस्य छन् । प्रचण्ड माओवादी संसदीय दलको नेता नै हुन् । पाण्डे संसदीय दलको प्रमुख सचेतक छन् । ‘म राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिने पक्षमा छैन’ पाण्डेले भने ।

अर्का सदस्य राई विराटनगरमा छिन् । ‘म उम्मेदवार हुने होइन । आज मनोनयन भोलि निर्वाचन छ । म त यता विराटनगरतिर छु’ सांसद राईले भनिन् । राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

हालसम्म यो पदमा नेपाली कांग्रेसको मात्र दाबी देखिएको छ । त्यसैले राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आज आफ्नो निवासमा दुई सभापति र दुई महामन्त्रीसहितको बैठक बोलाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर