माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

  माघ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ । पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ । माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री माओवादीकालाई पनि विश्वासको मत दिएको छ । मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।

माओवादी केन्द्रलाई आफूनिकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि बुधबार उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादी नेकपा एस सहित प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज घिमिरेले माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थनमा सभामुखमा उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि कांग्रेसले एमालेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको हो । सभामुख चयनका लागि बिहीबार निर्वाचन हुने कार्यक्रम छ । यो समाचार नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर