मिडियाबाजी डटकम काठमाडौं । भारतीय रिजर्भ बैंकले ब्याजदर ५० आधार विन्दु (०.५%) ले बढाएको छ । भारतीय केन्द्रीय बैंकले ब्याजदर बढाएर ५.४०% पुर्याएको हो । रिजर्भ बैंकले गत मे महिनायता तेस्रो पटक ब्याजदरमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । बढ्दो मुद्रास्फीति दरलाई नियन्त्रणमा राख्न ब्याजदर बढाइएको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले जानकारी गराएका छन् ।रिजर्भ बैंकले भारतको मुद्रास्फीति दर यस आर्थिक वृषमा ६.७% रहने प्रक्षेपण गरेको छ ।
भारतको मुद्रास्फीति दर लगातार छैटौं पटक जुन महिनामा ६% भन्दा माथि गएको थियो । रिजर्भ बैंकको सहन क्षमता अनुसार मुद्रास्फीति दर ६% विन्दुमा राख्नका लागि ब्याजदर बढाएको जनाएको छ । यद्दपि, ब्याजदरमा अझै वृद्धि हुनसक्ने गभर्नर शक्तिकान्त दासले बताएका छन् । समग्रमा यस वर्षमात्रै भारतको केन्द्रीय बैंकले कुल १४० आधार विन्दुले ब्याजदर बढाइसकेको छ ।यता, दासले अमेरिकी डलरको तुलनामा कमजोर बन्दै भारतीय मुद्रालाई पनि विश्लेषण गरिरहेको बताएका छन् ।
गत साता भारतीय मुद्रा इतिहासकै कमजोर बन्दै प्रतिडलर ८० रुपैयाँसम्म झरेको थियो । रिजर्भ बैंकको हस्तक्षेपपछि केही सम्हालिएपनि भारु फेरि नयाँ ऐतिहासिक न्यून विन्दुमा पुग्ने विश्लेषण भइरहेको छ । भारतीय रुपैयाँको स्थिरताका लागि कदम चाल्ने पनि गभर्नर दासले जानकारी गराएका छन् ।