मिडियाबाजी डटकम काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठकका लागि तोकिएकै समयमा उपस्थित हुनुपर्ने नियम सुरु गरेका छन् । सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले त्यस विषयमा जानकारी दिएका हुन् ।
‘मैले धेरै लामो बोल्न सक्ने स्थिति छैन। ४ बजेदेखि क्याबिनेट छ । मैले क्याबिनेटमा के नियम बनाएको छु भने अब कसैले ढिलो गर्नै हुँदैन । ठीक टाइममा। जतिबेला भन्यो त्यतिबेलै आउनुपर्ने भनेको छु मैले नै । त्यसैले म क्याबिनेटमा जानु छ’, सोमबार ‘राष्ट्रिय सहिद तथा बेपत्ता स्मारक’ उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले भने । आवश्यकता अनुसार जुनसुकै समयमा क्याबिनेट बस्न सक्छ। तर, सामान्यतया क्याबिनेट सोमबार र बिहीबार बेलुकी बस्ने गरेको छ । तर, तोकिएकै समयमा बस्ने भन्दा पनि प्रधानमन्त्रीले अन्य मन्त्रीलाई कुराइदिने गरेको विगतका मन्त्रीहरुको अनुभव छ । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो। यसअघि उनी २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए। पछिल्लो कार्यकाल भने गत पुसदेखि सुरु भएको हो ।