मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन्।
उपराष्ट्रपति सुआनले भ्रमणका दौराने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी थिइन्। साथै उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उनीसँग शिष्टाचार भेटवार्ता गरिन्।
नेपाल र भियतना दुवै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक-सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो। दुवै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ छ। जुन कूल जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो। त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्यांकअनुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको उल्लेख छ। झण्डै १० करोड जनसङ्ख्या भएको भियतनामको कूल जनसंख्याको यो लगभग १३ दशमलव तीन प्रतिशत हो।