मिडियाबाजी डटकम पर्सा — आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भारतले उपहारस्वरुप नेपाललाई दिएका २ सयवटा सवारी साधन वीरगन्ज नाका हुँदै भित्रिएको छ । भारतले सुरक्षा निकायलाई १ सय २० र निर्वाचन आयोगलाई ८० गरी २ सय सवारी साधन उपहार दिएको हो ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा एक साताअघिदेखि भारतले उपहार स्वरुप दिएको महेन्द्रा बोलेरो क्याम्पर र स्कारपियो पिकअप भ्यान भित्रिन थालेको आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए । ‘यो नाकाबाट कूल २ सय सवारी भित्रिने भनिएकोमा १ सय १८ बोलेरो क्याम्पर र ७९ स्कारपियो पिकअप भ्यान गरी १ सय ९७ वटा सवारी भित्रिएका छन् ।
बाँकी ३ सवारी बाटोमै दुर्घटनामा परेको जानकारी हामीलाई गराइएको छ,’ उनले भने, ‘बुधबारसम्ममा १ सय ९७ वटै सवारी जाँचपास भइसक्नेछन् । प्रत्येक सवारीको ५ सय ६५ रुपैयाँमात्र भन्सार शुल्क लाग्ने छ ।’ यी सबै सवारी साधन काठमाडौं पठाइने उनले बताए ।
वीरगन्ज नाका नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका हो । भारत तथा तेस्रो मुलुकबाट समेत आयातित अधिकांश नयाँ सवारी साधन यही नाका भएर भित्रिने गरेका छन् । वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वको प्रमुख हिस्सा नयाँ सवारी साधनबाट संकलन हुने राजस्व नै हुने गरेको छ ।