भदौका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३१ । वाणिज्य बैंकहरुले भदौ महिनामा लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्।

साउनको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये ८ वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् भने बढाउने बैंक भने प्रभु बैंक रहेको छ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले १.१३ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो। यता प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक प्रभु बैंक थियो।

व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो। बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ। सो बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। यस्तो मुद्दति निक्षेपको ब्याजदर औषतमा ०.१५ प्रतिशत घटेको हो।
 

तपाईंको प्रतिक्रिया

थप खबर