मिडियाबाजी डटकम काठमाडौं ,फागुन १५ । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज कारखानामा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सोही क्रममा विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।
लेथले काट्ने प्रयास गर्दा विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ ।