बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज १   औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने बताए। ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ। मनसुन बहिर्गमन हुन १५ दिन मात्रै बाँकी छ, कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ। यो वर्ष सरदर मितिमै मनसुन बहिगर्मन हुन्छ वा हुँदैन अहिल्यै भन्न सकिँदैन’, उनले भने।

लामिछानेका अनुसार आज पनि देशभर साधारणतया मौसम बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनले बताए।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर