प्रधानमन्त्री पत्नी राधिका भन्छिन्–सबैले राजनीति गर्न जरुरी छैन

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० ।  प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले देशका सबै नागरिक राजनीतिमा लाग्न आवश्यक नभएको टिप्पणी गरेकी छन् ।

राष्ट्रिय युवा संघले आयोजना गरेको तीज उत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक व्यक्तिको आ–आफ्नो रुचि र क्षेत्र हुने भएकाले सबैले राजनीति नै गर्नुपर्छ भन्ने नरहेको बताएकी छन् ।

‘मलाई धेरै मान्छेहरुले तपाईं किन पोलिटिक्समा नआउनु भएको भनेर प्रश्न गर्छन्,’ उनले भनिन्, ‘मेरो एउटै जवाफ छ, देशमा भएका सबै मान्छेले पोलिटिक्स गरेर हुँदैन । सबैको आ–आफ्नो ठाउँ, रुचि र क्षेत्र हुन्छ ।’

उनले समाजमा एकले अर्काको खुट्टा तान्ने, प्रगतिमा ईष्र्या गर्ने र नकारात्मकता बढेकोमा चिन्ता व्यक्त गरिन् । शाक्यले नेपाली समाज र विशेष गरी राजनीतिमा यस्ता विकृतिहरूले बढी सार्थकता पाएको जस्तो देखिनु दुःखद भएको बताइन् । ‘समाजको हरेक क्षेत्रमा विद्यमान यस्तो व्यवहार कसैबाट पनि नहोस् भन्ने म हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

उनले नेपालमा अधिकांश मानिसलाई राजनीति नै गर्न मन लाग्ने र राजनीतिक सफलतालाई मात्रै वास्तविक सफलता ठान्ने मानसिकता रहेको सुनाइन् । ‘राजनीतिमा सफल भए सफल भएको, अरु क्षेत्रमा सफल भए सफल भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र मानसिकता छ, त्यस्तो होइन,’ उनले प्रस्ट्याइन् ।

युवा संघले समाजमा फैलिएका विकृतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले काम गरिरहेकोमा प्रशंसा गर्दै उनले हरेक उमेरका व्यक्तिले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर