मिडियाबाजी डटकम काठमाडौँ, साउन २८ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो बस्दैछ ।
बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
आज चार संसदीय समितिको पनि बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन २३ गते घटेको घटना र सो को प्रभाव र समस्या समाधानका उपायहरूबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षकको ६२औं प्रतिवेदनमा समेटिएका मूलभूत पक्षका बारेमा छलफल गर्ने कार्यक्रम छ ।