मिडियाबाजी डटकम काठमाडौँ ,भाद्र ९। नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजना तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका तीन ओटै क्रियाशील ट्रेड युनियनहरूको सहभागितामा तिज विशेष कार्यक्रम-२०८२ सम्पन्न गरिएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।उहाँले तिज पर्व महादेव र पार्वतीको कथाबाट सुरु भएको भनिएको छ । यद्यपि तिज सामन्तवादी संस्कृतिको प्रभावबाट विकसित हुँदै आए पनि अहिले प्रायः समुदायमा व्यापक भइसकेको छ । विभेदको अन्त्य, महिला मुक्ति र परिवर्तनसँग जोडेर तिज मनाउन आग्रह गर्दै महिलाहरूले आफ्ना जीवन भोगाइका दर्द, कठिनाइ , भावनात्मक सुख दुःख र आत्मीय क्षणहरूलाई प्रस्फुटन गर्ने माध्यम तिज बनेको देखिन्छ। तिजलाई भडकाब ,अन्धविश्वास र विकृतिबाट मुक्त गर्न जोड दिँदै भ्रष्टाचारको विरुद्ध चेतना फैल्याउन जोड दिनुभएको थियोे ।नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तिज पर्व आफन्त र साथीभाइसँग भेटघाट र रमाइलो पर्वका रूपमा झकिझकाउसँग मनाउने गरिएको छ । महिलामुक्तिसँग जोडेर असमानता र विकृतिविरुद्ध तिज मनाउनु पर्ने बताउनुभएको थियोे ।कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीलेतिज भनेको महिलाको मात्रै नभएर समुदायको सम्झौताको सांस्कृतिक पर्व पनि हो।किरात र शैवबिच सम्झौता भएपछि तिज मान्न थालिएको थियोे।सामाजिक सदभाव र मेलमिलाप कायम राख्दै पितृसत्ताविरुद्द महिला समानता र विभेदविरुद्ध तिज मनाउनुपर्ने बताउनुभएको थियोे ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य -काव्य विभाग प्रमुख बाबा बस्नेतले तिज पर्वलाई वैचारिकीसँग जोडेर मनाउन ,अनावश्यक पक्षबाट तिजलाई मुक्त गर्दै महिलाका पीडालाई व्यक्त गर्ने माध्यमका रूपमा लिनुपर्ने बताउनुभएको थियोे। कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले तिजसँग जोडिएको धार्मिक अन्धविश्वास ,अराजकता र विकृतिलाई हटाउँदै महिला स्वतन्त्रता ,सामाजिक सदभाव , पारिवारिक र इस्टमित्रको पुनर्मिलनका रूपमा लिनुपर्ने बताउनुभएको थियोे ।उहाँले ऋषिपञ्चमीका दिनसँग जोडिएको पूजाआजा , पुरुष अर्चना र भक्तिगानलाई हेर्दा तिजले कुनै पनि रूपमा महिलालाई जञ्जिरले बाधेको देखिन्छ । यसबाट समेत मुक्त हुनु जरुरी रहेको बताउनुभएको थियोे ।कार्यक्रममा साहित्यकार सीता शर्माले ”तिज गीत र पर्व”विषयक प्रस्तुति दिँदै पितृसत्तासँग तिज जोडिएको पुँजीवादी चरित्र सहितको एक धार्मिक विश्वास मात्रै रहेको चर्चा गर्नुभएको थियो । उहाँले तिज पर्व अहिले सामाजिक रूपमा पुनर्मिलनको माध्यम बनेको छ ।तापनि तिजसँग जोडिएका अन्धविश्वास र दासतापूर्ण पुरुष भक्तिगानबाट मुक्त हुनुपर्ने र ऋषिपञ्चमीको व्रतले महिलाको स्वतन्त्रता र स्वाभिमानमाथि आँच पुर्याएकाले खारेज हुनुपर्ने तर्क राख्नुभएको थियोे।डा.प्रतिभा पुनले ”तिज गीत र पर्व”विषयक प्रस्तुति दिँदै विज्ञान र प्रविधिले संस्कृतिमाथि धावा बोलेकाले मौलिकता गुमाउँदै गएको चित्रण गर्नुभएको थियो । उहाँले अब तिज व्रतसँग होइन, विचारसँग जोड्नुपर्ने बताउनुभएको थियोे ।

तिज र ऋषिपञ्चमीका व्रतहरूले प्रतिरोधी चेतनालाई निस्तेज गर्ने भएकाले पुँजीवादी सामन्ती व्यापारको माध्यम महिला बन्नु नहुने बताउनुभएको थियोे।डा.चूडाप्रसाद ढकालले ”तिज गीत र पर्व” विषयमा प्रस्तुति दिँदै तिज पर्वमा विज्ञान र प्रविधिको प्रभाव व्यापक परेको चर्चा गर्दै प्रकृतिसँग पनि तुलना गर्नुपर्ने बताउनुभएको थियोे । उहाँले तिज पर्वमा अहिले धनीका तडकभडकले झनै असमानता बढ्न थालेको उल्लेख गर्दै आपसी मेलमिलाप, न्याय र महिलामुक्तिका पक्षमा तिजलाई मनाउन जोड दिनुभएको थियोे।कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन महाशाखा प्रमुख सन्ध्या पहाडी,उपप्रमुख विश्वास घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल प्रज्ञा-प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर एवम् नेपाल प्रज्ञा-प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष जयराज जोशीले तिज पर्वबारे शुभकामना मन्तव्य राख्नुभएको थियोे। कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका नासु राधा कार्कीले गर्नुभएको थियोे ।