मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट पारे ।
पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई तत्काल सच्याउनु पर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नु पर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै प्रचण्डले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।