मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ । अबिरल वर्षाका कारण बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरूद्ध भएका छन् ।
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमतीको मृत्यु भएको छ । उनीहरू पहिरोमा पुरिएर बेपत्ता भएकोमा प्रहरी टोली र स्थानीयको सक्रियतामा शव निकालिएको थियो ।
पहिरोले विश्वकर्मा दम्पतीलाई घरभित्रै पुरेको थियो भने बुहारी पवित्रा भने पहिरो खस्नासाथ हाम्फालेर बाँच्न सफल भएको बताइएको छ । उता पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका–४ थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा प्रहरीका प्रवक्ता रोहितकुमार शाहीकाअनुसार माथिबाट आएको पहिरोले घर पुरिँदा घर्तीमगरको मृत्यु भएको थियो ।
यसैबीच बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पुगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले आज बिहान ९ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।