मिडियाबाजी डटकम काठमाडौँ, जेठ १४ । न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहने छन् । यो न्युजिल्याण्डबाट उपल्लो तहको पहिलो राजनीतिक भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले न्युजिल्याण्डका उपप्रधान तथा विदेशमन्त्रीको मैत्रीपूर्ण औपचारिक भ्रमण हुन लागेको बताए ।
श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आउन लागेका हुन् । उनी बुधबार अपराह्न काठमाडौं आउने र राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने मन्त्रालयले जनाएको छ ।