मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २५। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो । बिहीबार सूचक घटेपनि कारोबार भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, छ्यांदी हाइड्रोपावर र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार फाइनान्स समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । फाइनान्स समूहको सेयर मूल्य ४.१६ प्रतिशतले उकालो लागेको छ । बैंकिङ समूहको सेयर मूल्य ०.७८ प्रतिशतले घट्दा विकास बैंक समूहमा १.१२ प्रतिशतको गिरावट आएको छ ।