नेपाल एयरलाइन्सको लापरबाहि, प्रधानमन्त्री दुबई उड्दा टिकट काटेका ३१ यात्रु अलपत्र

  मङि्सर १४, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १४ ।नेपाल एयरलाइन्सको जहाजले दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ । एयरलाइन्सको जहाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर दुबई उड्दा सोही विमानको टिकट लिएका ३१ यात्रुहरु काठमाडौंमै छुटेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् ।

यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ । प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्व निर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो ।

तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु पनि फर्किन बाध्य भएका थिए । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको जनाइएको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर