नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक छ : कुलमान घिसिङ

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ ।   हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्।

एनआरएनए लक्जेम्वर्गलगायत नेपाली संघसंस्थाद्वारा संयुक्त रुपमा बुधबार आयोजित सम्मान तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।

मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए।

‘प्रायः ब्यूरोक्रेसी नेतृत्वले नै चलाउछ, तर नेतृत्वले भनेको सबै कुरा, गलत भएपनि, मान्न जरुरी छैन। डेडीकेटेड ट्रंक लाइनको बक्यौता असुल गर्न लाग्दा मलाई मेरो कार्य वढी चार महिना मात्रै बाँकी रहंदा मलाई बर्खास्त गरियो,’ घिसिङले भने। तर संसारभरि रहेका नेपालीहरुको माया र सद्भावका कारण आफू निरुत्साहित नभएको पनि उनले जनाए।

‘जबसम्म सही जनशक्ति, सही समयमा सही ठाउँमा नियुक्त गरिँदैन, तबसम्म मुलुकले चाहेको परिवर्तन हुन सक्दैन। नेपालमा लोडसेडिङ अन्त्य गर्न आम जनसमुदायले हाम्रो टिमलाई सहयोग गर्नुभयो, त्यसले गर्दा मलाई राजनीतिक दबाबसंग संघर्ष गर्न पनि शक्ति दियो, त्यसका लागि आम नेपाली जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने।

घिसिङले नेपालको संविधान २०७२ ले एनआरएन नागरिकताको व्यवस्था गरेकाले अब तत्काल आवश्यक कानून बनाएर त्यसको कार्यान्वयन गर्नुपर्ने बताए।

तपाईंको प्रतिक्रिया

थप खबर