मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ७ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै यसमा आफूहरूको सहमति बिना कुनै देशले केही गर्न नपाउने बताएका छन् ।
नेपाललाई नसोधी चीन र भारतले हालै लिपुलेकलाई दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गर्नु अनुचित भएको उनले बताएका हुन् ।
शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमति बिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिता बिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ ।’
सुगौली सन्धि सन् १८१६ तिरको सीमा नै वास्तविक भएको दाबी गर्दै एमाले महाचिव पोखरेलले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको जिकिर गरे ।