दोलखा जिल्ला तामाकोसी गउँपालिका- २ झुले, अमरटाेलमा माता हेमकुमारी कार्की र पिता सुदर्शन कार्कीको दोस्रो सन्तानका रूपमा वि.सं. २०३३ चैत २६ गते श्रीबाबु कार्कीको जन्म भएको हो । उनी आधुनिक नेपाली गद्य कविता र निबन्ध लेखनका सिद्धहस्त सर्जक हुन् ।
– च्यापिएको मुस्कान – २०५६ कवितासङ्ग्रह
– समय-बाछिटा – २०६१ लघुकथासङ्ग्रह
– जराका अनुहार – २०६८ दुई कवितासङ्ग्रह
– यतिको कथा, रमाइलो चरिगाउँ, गँगटाेको गुन, बाँदरको सल्लाह चार बालकथासङ्ग्रह र,
– सन्दिग्ध शताब्दी निबन्धसङ्ग्रह – २०७९ गरि कार्कीका आठ पुस्तकहरू प्रकाशित छन् ।
उनलेे समकालीन नेपाली निबन्धलाई प्रयोगात्मक र प्रतीकात्मक शैलीमार्फत विशिष्ट योगदान पुर्याइरहेका छन् । मानवीय संवेदना, युगबोध र जीवन-दर्शनलाई कलात्मक शिल्पका साथ अभिव्यञ्जित गर्ने प्रखर क्षेमता रहेका कार्कीको निबन्धकारिता नेपाली निबन्धका क्षेत्रमा महत्त्वपूर्ण आयामका रूपमा हेरिएको छ । निबन्धमा उनले निर्माण गरेको बिम्बात्मक गोरेटो प्रकारान्तरले राजमार्गमा परिणत हुने निश्चित छ । ललित निबन्धमा बेग्लै धार र शैली निर्माण गरेका कार्की ऊर्जाशील सर्जक हुन् ।
उनले निबन्धमा आत्मप्रकाशन गर्दै जीवनको स्व पोखेका छन् । मानिसको वैयक्तिकता पनि कला र दर्शनको लेपले पठनीय हुन्छ भन्ने दृष्टान्त उनको निबन्धमा पढ्न पाइन्छ । साझा प्रकाशनबाट प्रकाशित ‘सन्दिग्ध शताब्दी’लाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने ‘सर्वोत्कृष्ट निबन्ध पुरस्कार – २०८०’ बाट एक हजार डलर सहित पुरस्कृत गरेको थियोे । भर्खर मात्रै उनलाई ‘उज्यालो भविस्य संस्था’ले ‘राष्ट्रिय साहित्य सम्मान -२०८२’ बाट सम्मानित गरेको छ ।
प्रस्तुत छ निबन्ध र कविताका सन्दर्भमा रहेर कार्कीसँग रोशन पटेलले गरेको समसामयिक कुराकानी ।

१. तपाईं कविता लेखिरहेको स्रष्टा नजानिँदो तवरबाट निबन्धमा आकर्षत हुनुभयो । कवितामा राम्रै परिचय बनिरहेको कविलाई सबैले लेख्न छोडदै गएको विधा निबन्धमा किन मोह बढ्याे ?
– तपाईंले ठीक भन्नू भयो । म निक्कै लामो समयदेखि आधुनिक गद्य कवितामा साधना गरिरहेको एक साधक हुँ । यदि मलाई कुनै कुरामा नसा छ भने कवितामा गहिरो नसा छ । कविताको नसामा मैले निक्कै लामो समय बिताएँ पनि । धेरथोर नाम पनि बनाएको थिएँ । कविता लेखेरै नेपाली साहित्यमा धेरै अवसरहरू पनि प्राप्त गरिरहेको हुँ । अहिले पनि म कविताको मार्गबाट अलग भएको होइन । मलाई कविताको तलतल र गहिरो लत बसेको छ । अझै पनि कविताको साधनाबाट टाढा जाने छैन । कवितामा एउटा पुस्ता शीघ्र सफलता खोजिरहेको छ । कविता रातारात भाइरल हुने विषय होइन । कविता लामो साधना / अभ्यास / धीरताविना सफलता सम्भव छैन । म कवितामा आज पनि उत्तिकै साधना गरिरहेको छु ।
मेरो मस्तिष्कले कविताको स्वाद कसरी भुल्न सक्छ र ? मेरा कविताहरू आज पनि पाठकहरू माझ विभिन्न माध्ययबाट पुगिरहेकै छ । यद्यपि मैले करिव डेढदशकदेखि निबन्धका क्षेत्रमा हात बढाएकाे हुँ । निबन्धको पनि आत्मपरक धार पक्डेर निबन्ध सिर्जना गरिरहेको थिएँ । पछिल्लो समयमा नेपाली निबन्धका पारखी आदरणीय अग्रजहरूले मेरा निबन्धलाई मन पराइदिनु भयो । पाठकीय उत्साह निक्कै उत्साहजनक पाएँ र निबन्धको पुस्तक प्रकाशित भयो । यो एउटा संयोग पनि हो । ‘सन्दिग्ध शताब्दी’ निबन्धसङ्ग्रहले साझा प्रकाशनबाट प्रकाशित हुने अवसर प्राप्त गर्यो । यो सङ्ग्रह पाठकहरूले अत्यधिक मन पराइदिनु भएको छ । यस हिसाबले म निबन्धमा पनि तानिएको हुँ । निबन्ध पनि साहित्यको एउटा महत्त्वपूर्ण शाश्वत विधा हो । म कविता छोडेर धेरै टाढा गएको छैन । कविता सयन कक्ष हो भने निबन्ध बैठक कक्ष हो भन्ने ठानेकाे छु ।
२. विश्व साहित्यमा निबन्धको स्थान कहाँ छ ? र नेपाली साहित्यमा निबन्धको गाम्भीर्यता क्रमशः घटदै गएको छ जस्तो लाग्छ । नेपाली निबन्धलाई पुनर्जागरण गर्न तपाईंहरूको पुस्ताबाट कत्तिको सम्भावना देख्नु हुन्छ ?
– म विश्व साहित्य अध्ययन गरेर साहित्यमा प्रवेश गरेको स्रष्टा होइन । म आफ्नै हिसाबले साहित्य लेख्छु । स्व-अध्ययनमा रमाउँछु । हरेक कुरालाई गहिरोसँग अनुभूत गर्छु । जहाँसम्म निबन्धको सन्दर्भ छ । यो १५ औं शताब्दी आसपासबाट विश्वसाहित्यमा देखा परेको विधा हो । प्रारम्भिक रूपमा यो युरोपेली मुलुक फ्रान्सबाट विस्तारित भएको इतिहास पढ्न पाइन्छ । यद्यपि निबन्धको अवधारणाको पूर्वाभास भनें इशापूर्वकै समयमा प्लेटो, एरिस्टोटल, होरेस, लन्जाइनसका लेख मार्फत भएको पढ्न पाइन्छ । निबन्धलाई सचेत रूपमा भने फ्रान्सेली विद्वान् मिचेल डी. मोन्त [ सन् १५३३ – १५९१]लाई जान्छ । निबन्धका जनक उनै मिन्तेञ हुन् भन्ने कुरा सुनिन्छ । निबन्धको उन्नयन र विस्तारमा ब्रिटेनका विद्वान् फ्रान्सिस वेकन [ सन् १५६१ – १६६२ ] को महत्त्वपूर्ण भूमिका देखिन्छ । त्यसपछि भने निबन्धले विश्व परिक्रमा मात्रै गरेन यो विधाको फैलावट तीब्र रूपमा भएको देखिन्छ । विश्व साहित्यमा कविता, कथा र उपन्यासपछि निबन्धको पनि महत्त्वपूर्ण स्थान छ भन्ने लाग्छ ।
नेपालमा पनि निबन्धको परम्परा निक्कै लामो देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले वि.सं. १९९३ कात्तिकको ‘शारदा पत्रिका’मा ‘आसाढको पन्ध्र’ निबन्ध प्रकाशित भएपछि नेपाली निबन्ध निक्कै गतिशील भएको देखिन्छ । त्योभन्दा अगाडि पनि निबन्ध नलेखिएको भने होइन यद्यपि देवकोटा आधुनिक नेपाली निबन्धका प्रथम सर्जक हुन् भन्ने कुरामा अध्येताहरू एकमत छन् । पछिल्लो समयमा नेपाली निबन्धलाई विशेषगरि लेखकहरूले आफ्नो आत्मोत्सव, अहम् र आत्मश्लाघा प्रदर्शन गर्ने विधा बनाए । यो नेपाली निबन्धका लागि दुर्भाग्यपूर्ण रह्यो । यो प्रवृत्तिले नेपाली निबन्ध केही अलमलमा रुमलियो । निबन्धको पछिल्लो गतिविधि हेर्दा अब नेपाली निबन्धको न्यारेटभ अपेक्षाकृत सुधार हुँदै गएको देखिन्छ ।
३. निबन्ध लेख्ने स्रष्टामा अध्ययन, अनुसन्धान र जीवन दर्शनको गहिरो ज्ञान आवश्यक हुन्छ भन्छन् । के अध्ययन नै निबन्ध लेखनको प्रमुख स्रोत हो ? अथवा हृदयपक्षको सम्प्रेषण निबन्धमा कत्तिको महत्त्वपूर्ण हुन्छ भन्ने ठान्नुहुन्छ ?
– कुनै पनि विधाको साहित्य लेख्नु – मन्दिरमा नियमित भजन, किर्तन, धुप, दीप, नैवेद चढाउनु जस्तो सजिलो छैन । साहित्य आध्यात्मिक हुनुजत्तिको सजिलो विषय पटक्कै होइन । साहित्यको कुनै पनि विधामा साधना प्रमुख कुरा हो । अध्ययन साहित्यको अपरिहार्य पक्ष हो । अध्ययन विना गहकिलो साहित्य सिर्जना गर्न असम्भव प्रायः देख्छु । निबन्ध आफैं एक निर्बन्ध विधा हो । निबन्ध निश्चित विषय वा क्षेत्रसँग मात्रै सम्बन्धित हुँदैन । यसको फलक अथाह हुन्छ । निबन्ध आफैंलाई टकटक्याउने / मानिसभित्रको बौद्धिक सौन्दर्य र व्यक्तिमार्फत स्व पोख्ने विधा हो । जीवन र जगतलाई मसिनोसँग चिह्याउने यो पावरवाल चस्मा हो । निक्कै सूक्ष्म कुराहरूलाई पनि सघन रूपमा नियाल्न सकिन्छ । निबन्धका सन्दर्भमा पाश्चात्य साहित्यका विद्वान् मोन्तेञको परिभाषा छ – “छरिएर रहेका विचार चिन्तनलाई सूत्रबद्द गर्ने विशिष्ट विधा हो, जसमा वैयक्तिक भाव, आडम्बरशून्य भाषा र अनौपचारिक अभिव्यक्ति रहेको हुन्छ ।” यो आख्याननिरपेक्ष गद्यविधा हो । यस हिसाबले हेर्दा निबन्ध लेख्ने साधकहरूमा अध्ययन र हृदयपक्ष दुबै कुराको सवलता आवश्यक छ भन्ने ठानेको छु ।
४.नेपाली निबन्ध आजसम्म आइपुग्दा धेरै निबन्धकारको योगदान महत्त्वपूर्ण छ । तपाईंलाई प्रभावित गर्ने अग्रज र समकालीन निबन्धकारहरूको प्रभाव तपाईंलाई कत्तिको महसुस गर्नु भएको छ ?
– नेपाली निबन्धमा आजका दिनसम्म आइपुग्दा धेरै अग्रजहरूको योगदान रहेको छ । निबन्धको आधुनिक चरणदेखि हेर्ने हो भने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा ( देवकोटा आधुनिक निबन्धका प्रयोत्ता वि.सं. १९९३ कात्तिकको शारदा मासिकमा प्रकाशित ‘असाढको पन्ध्र’ बाट प्रारम्भ भएको मानिन्छ ) सूर्यबिक्रम ज्ञवाली, पारसमणि प्रधान, ईश्वर बराल, हृदयचन्द्रसिंह प्रधान, शंकर लामिछाने, श्यामप्रसाद शर्मा, कृष्णचन्द्रसिंह प्रधान, रामकृष्ण शर्मा, जनकलाल शर्मा, राममणि रिसाल, भैरव अर्याल, केशवराज पिँडाली, कमल दीक्षित, तारानाथ शर्मा, दुर्गाप्रसाद भण्डारी, नारायणबहादुर सिंह, बालकृष्ण पोखरेल, तेजेश्वरबाबु ग्वङ्ग, डा.माधव पोखरेल, प्रा.अभि सुवेदीका निबन्ध मलाई विशेष प्रभावित गरे । पछिल्लो समय श्यामल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रामबाबु घिमिरे, शारदा शर्मा, गोविन्द गिरी प्रेरणा, युवराज नयाँघरे, विनयकुमार शर्मा नेपाल, मोमिला जोशी, विमल भौकाजी, मोहन चापागाईं, माधव काफ्ले, ज्ञानेन्द्र विवश, डा.ज्ञानु पाण्डे, भुपाल राई, पुन्य कार्की, मुकुन्दराज शर्मालगायका निबन्धले पनि म प्रभावित भएको छु । त्यसैगरि रजनी ढकाल, भूपिन खडका, कुमारी लामा, नवीनबन्धु पहाडी, विनोदबिक्रम के.सी, ज्ञानु अधिकारी, रञ्जना निरौला, लक्ष्मण अर्याल नवीन विभाष, दीपक सापकोटा, बोधराज पौडेल आदिका निबन्धहरूले पनि मलाई गहिरोसँग छोएका छन् । निबन्धकारको लिष्ट लामै हुन्छ केवल मैले तीव्र रूपमा सम्झिएका प्रतिनिधि नाउँहरू हुन् यी । यी नाउँहरू मलाई मात्रै नभनौं वर्तमान समयलाई कुनै न कुनै रूपमा विशिष्ट लाग्छन् । समय र सौन्दर्यका कारण उहाँहरू निबन्धमको स्थापित नाम पनि हो । सर्सर्ति हेर्दा सबैको निबन्ध पठनीय छन् । त्यसबाट आउने पाठकीय आनन्दले मलाई पनि छुन्छ । यद्यपि लेख्ने शैली र अनुभूतिमा आ-आफ्नै निजत्व हुन्छ भन्ने लाग्छ ।
५- कविता र निबन्धको सिर्जनामा हुनुहुन्छ यी दुई साहित्यिक विधामा पाइने अन्तरवस्तुहरू मध्ये तपाईंलाई चाहिँ कुन कुराले छिटो छुन्छ ?
-विश्व साहित्यमै हेर्ने हो भने कविको आफ्नै विशिष्ट परम्परा छ । कविता आगोको झिल्का हो । जसले थोरै समयमा विश्वमा हल्ली-खल्ती मच्चाउँछ । यसरी भनौं – कविताले तीव्र रूपमा विचारको आगो सल्काउँछ । कविताइतरका विधाहरू धीमा गतिका हुन्छन् । जो बिस्तारै मानिसहरूको चेतनामा बस्छन् । यसरी हेर्दा देवकोटाकाे ‘पागल’ कविताको अन्तरवस्तु जतिछिटो पाठकले ग्रहण गर्छन् । उनको चर्चित निबन्ध ‘के नेपाल सानो छ ?’ले त्यो क्षमता राख्दैन । हरेक विधाको आ-आफ्नै विशिष्ट सौन्दर्य हुन्छ । विधागत अन्तरवस्तु पनि फरक हुनु स्वभाविक हुन्छ । म कविता पढ्दा जत्ति आन्दित हुन्छु / भावोत्तेजित हुन्छु । त्यत्ति साहित्यका कुनै विधाबाट प्राप्त गर्न सक्दिन । कविताबाट प्राप्त गर्ने अन्तर्वस्तु निक्कै गहन र ओझिलो हुन्छ । यद्यपि एउटा सुन्दर निबन्धबाट पनि गहन अन्तर्वस्तु प्राप्त नहुने भन्ने होइन । स्तरीय निबन्धको अन्तर्वस्तुले पनि मस्तिष्कलाई बेस्सरी हल्लाउँन सक्छ । शङ्कर लामिछानेको निबन्ध ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ कुनै कविताभन्दा कम छैन । देवकोटाका निबन्धहरू पनि त्यस्तै छन ।
६. लेखन के हो भन्ने ठान्नु हुन्छ ? लेखनलाई त धेरैले अनुत्पादक क्षेत्र भन्ने गर्छन् कस्तो लाग्छ तपाईंलाई ?
• निक्कै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । केही अपवाद छोडेर भन्ने हो भने लेखनले चुलो बल्दैन । छोराछोरीको शैक्षिक जोहो टर्दैन । हाम्रो सामाजिक खर्चहरू धान्दैन । जीवनको सामाजिक लय थाम्दैन । यो यथार्थ घामजत्तिकै छर्लङ्ग छ । लेखन कुनै अपेक्षा / प्राप्ति, अनुराग र आशक्तिबाट निर्देशित भयो भने त्यो समस्या हुन्छ । लेखनबाट अपेक्षाकृतभन्दा निक्कै कम प्राप्ति हुन्छ । तर लेखनलाई निस्वार्थ रूपले हेर्दा त्यो समस्या देखिँदैन । नशा खानेहरूलाई नशाले फाइदा गर्दैन थाहा हुन्छ । यद्यपि उनिहरू नशासेवन गरिरहेका हुन्छ । साहित्य लेख्नेहरूलाई साहित्य लेखेर चुलोबाल्न सकिन्न भन्ने हेक्का छ तथापि उनीहरु लेखिरहन्छन् – लेखनलाई पनि ‘नशा’ वा ‘लत’ जे भने पनि हुन्छ । यद्यपि लेख्दा नशा सेवन गरेकाहरूको जस्तो शरीरलाई नोक्सान गर्दैन । समाजलाई नोक्सान पुर्याउँदैन । बरु मानिसको चेतना र सामाजिक सभ्यताको निर्माणमा टेवा पुर्याउँछ । लेखनलाई कुनै पनि अपेक्षाबाट मुक्त गरिदिने हो भने लेखन उत्पादक लाग्छ । हामीले विद्यालयदेखि विश्वविद्यालयमा पढेका कथा / कविता / निबन्ध त्यतिबेला कसैले नलेखिदिएका भए हाम्रो देशको सभ्यता कस्तो हुन्थ्यो ? सामाजिक सौन्दर्य कस्तो हुँदो हो ? साहित्यलाई भौतिक उन्नतिसँग जोडेर किमार्थ हेर्नू हुँदैन भन्ने ठान्छु । सभ्य समाजको लागि साहित्यको महत्त्व अद्वितीय हुन्छ । अमापनीय र अदृश्य हुन्छ ।
७. हामी कहाँ आत्मपरक निबन्धको हाँगो सुक्दै गएको जस्तो लाग्छ । निबन्धलेख्नेहरू कमी हुँदै गएका छन् । नेपाली साहित्यमा निबन्धको प्रभाव कस्तो छ भन्ने लाग्छ ।
. हजुर ठीक भन्नु भयो । पहिले पनि निबन्ध लेख्ने निबन्धकारहरू संख्या कमै हुन्थ्यो । निबन्धमा कविता/गीत / गजल / मुक्तक र अहिले लेखिँदै आएका नयाँ-नयाँ साहित्यिक विधाहरू जस्तो लेखकीय लहर र भीडभाड निबन्धमा कहिल्यै देखिएन । भविष्यमा पनि त्यो सम्भावना म देख्दिन । निबन्ध लेख्न त्यति सजिलो छैन पनि । हम्मेसी निबन्ध लेख्न सकिँदैन यो रहर र लहडमा लेख्न सम्भव हुने विधा होइन । निबन्धले हरेक हिसाबले परिपक्वता खोज्छ । भाषिक, वैचारिक, बौद्धिक र दर्शनको गहिरो ज्ञान भएन भने निबन्ध हावा भरेको बेलूनको स्वरुप जस्तो मात्रै हुन्छ । बेलून जतिसुकै ठूलो होस् – त्यो केवल क्षणभङ्गुर मात्रै हुन्छ । निबन्धमा सघन भाव / शाश्वत दर्शन /सार्थक विचार र गहिरो जीवनबोध भए मात्रै निबन्ध कालजयी हुन्छ । तपाईंले भन्नू भएको कुराको मोटामोटी उत्तर आयो भन्ने लाग्छ । निबन्ध हरेक कालखण्डमा संख्यात्मक होइन गुणात्मक लेखकहरूबाट मात्रै लेखिँदै आएको छ । यसो हुँदा निबन्धको हाँगो अन्य विधाका तुलनामा सानो देखिनु स्वभाविक हो । निबन्धमा पनि अन्य शाश्वात विधामा जत्तिकै पाठकीय प्रभाव छ भन्ने लाग्छ । कविताका तुलनामा निबन्ध / कथा / नाटक कम लेखिनु अन्यथा होइन कि भन्ने लाग्छ ।
८. तपाईं त कविता पनि लेखिरहनु भएको छ । निबन्ध पनि लेखिरहनु भएको छ । यी दुई विधामा तपाईं आफूलाई चाँही कुन विधा लेख्दा लेखकीय आनन्द आएको महसुस गर्नुहुन्छ ?
– यो निक्कै अप्ठ्यारो र गम्भीर प्रश्न हो भन्ने लाग्छ । एउटी आमालाई पुत्र वा पुत्री जन्माउँदा लाग्ने प्रसूतिबेथा उही हो । दुबैमा उत्तिकै कुतूहल, उत्सुकता र प्रसूति-पीडा उस्तै महशुस हुने हो । सर्जकका रूपमा निबन्ध लेख्दा र कविता लेख्दा पाउने आनन्द पनि त्यस्तै हो । पछि सामाजिक प्रभावबाट केही फरक अनुभूति हुने कुरा त्यो पृथक होला । यद्यपि सिर्जनात्मक हिसाबले सर्जकलाई जुनसुकै बिधाबाट उत्तिकै आनन्द प्राप्त हुन्छ भन्ने लाग्छ ।
९. लेखन के हो भन्ने ठान्नु हुन्छ ?
– लेखन प्रकृति प्रदत्त कुरा हो भन्ने ठान्छु । वास्तविक लेखक प्रकृतिको सुन्दर उपहार हो भन्ने लाग्छ । कुनै पनि कुरा लेख्छु भनेर लेखिँदैन । लेख्ने कुरा झट्ट हेर्दा जति साधारण हो भन्ने लाग्छ । वास्तवमा त्यो असाधरण कुरा हो । एक युगमा निक्कै कम लेखकहरूले मात्रै कालजयी सिर्जना गर्न सक्छन् । लेख्नु भनेको दिव्यदृष्टि खुल्नु हो । दिव्यदृष्टि खुलेन भने लेखन फितलो हुन्छ । युगमा थोरै लेखकमात्रै समाजको आँखामा पर्छन् । बाँकी रहरमा सिमित हुन्छन् । अहिले हामीले भीडभाड देखेका लेखकहरू बिस्तारै किनार लाग्दै जान्छन् । हिजो गोपालप्रसाद रिमाललाई कविता भन्न नदिनेहरू पनि थिए । आज तिनीहरू कहाँ छन् थाहा छैन । गोपालप्रसाद रिमाल हाम्रो मस्तिष्कमा छन् । मैले लेखनलाई असाधारण कुरा भनेको छु । रहरले कोही पनि देवकोटा, रिमाल बन्दैन । सम, भूपी, लेखनाथ, विश्वेश्वर, पारिजात बन्दैन । त्यसैले लेखक प्रकृतिप्रदत्त कुरा हो भन्ने लाग्छ ।
१०. तपाईंका निबन्धहरूमा सघनभावका जीवन दर्शन पढ्न पाइन्छ । साँच्चै जीवन चाहिँ के हो भन्ने लाग्छ ?
– जैविक रूपले हेर्दा जीवन ‘जन्म र मृत्युवीच’को समय भन्ने होला । तर जीवनलाई त्यसरी जैविक रूपमा मात्रै बुझ्नु हुँदैन । जैविक जीवनको निश्चित समय हुन्छ । उमेरका अनेकौं चरणहरू हुन्छन् । सिर्जनात्मक जीवन अलिक पृथक र कालजयी हुन्छ । जीवन एक महत्त्वपूर्ण प्राप्ति हो । यो कसैले चाहेर, नचाहेर वा प्रार्थना गरेर पाइने कुरा पनि होइन । यो प्रकृतिप्रदत्त प्रक्रिया हो । फ़ेरि मानव जुनी त झन् सृष्टिको अमूल्य उपहार नै हो भन्ने भाष्य छ । त्यसको पनि आ-आफ्नै बुझाइ होला । मलाई यत्ति थाहा छ – मानव जीवन चेतानाको सर्वोत्तम रुप हो । यो सिर्जनात्मक छ / विवेकशील छ / चिन्तनशील छ ।
विश्वप्रसिद्ध साहित्यकार विलियम सेक्सपियरले “जीवन एक रङ्गमञ्च र हामी त्यसका कलाकार” भनेर जीवनको व्याख्या गरेका छन् । हामीले जीवनलाई अनेकौं कोणबाट बुझ्नुपर्छ । अनेकौं आयामबाट हेर्न सक्नुपर्छ । यसरी हेर्दा जीवन एक रङ्गमञ्च जस्तो पनि लाग्छ । जीवन अमूर्त कला जस्तो पनि देखिन्छ । मर्नुपर्छ थाहा छ तर कहिले भन्ने अज्ञात छ ! प्रकृतिको यही अज्ञात भयबिच जीवनलाई सुन्दर, कलात्मक र स्मरणीय बनाउन हामी उद्दत हुन्छौं । सायद मेरा निबन्धमा जीवनको यी कुरा नै आएका छन् भन्ने लाग्छ ।
११. तपाईंको पहिलो निबन्धसङ्ग्रह ‘सन्दिग्ध-शताब्दी’ अनेसास ‘सर्वोत्कृष्ट निबन्ध’ पुरस्कारबाट पुरस्कृत भयो । ठूलै धनराशि पनि प्राप्त भयो । प्रशंसा कत्तिको पाउनु भएको छ ?
– हजुर, मलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ प्राप्त भयो । मेरो पहिलो निबन्धसङ्ग्रह ‘सन्दिग्ध शताब्दी’का लागि यो महत्त्वपूर्ण कुरा भयो । एक हिसाबमा म निक्कै खुसी पनि भएको छु । अर्को हिसाबले हेर्दा मलाई यो पुरस्कारले थप जिम्मेवार पनि बनाएको छ । चुनौती पनि थपिदिएको महसुस भएको छ । नेपाली साहित्य र निबन्धलाई माया गर्नुहुने धेरै अग्रज र समकालीन साथीहरूबाट प्रशंसा पाएँ । म धीमा गतिमा साहित्य लेखिरहेको मान्छे । मलाई प्रशंसा र आलोचना दुबै सहज लाग्न थालेको छ । पुरस्कारले म थप जिम्मेवार बनेको अनुभूति गरेको छु । पात्तिएको या आँत्तिएको छैन । यो निबन्धप्रति मैले गरेको साधनाको प्रतिफल हो भन्ने लागेकाे छ ।
१२. साहित्यमा हरेक विधाका पाठक फरक-फरक हुन्छन् कि, प्रायः पाठकहरू सबै विधा मन पराउँछ्न् ? तपाईंलाई के लाग्छ ?
– मानिसका जिब्रोमा स्वाद फरक भएझैँ, हरेक मस्तिष्कको आस्वाद पनि फरक हुनु स्वभाविक होला । पाठकहरूलाई साहित्यबाट अलिक बढी ज्ञानार्जन कै चाह भएको पाइन्छ । साहित्यबाट मनोरञ्जन र आत्मरञ्जन पनि नहुने होइन । साहित्यका हरेक विधाको फरकफरक ध्येय हुन्छ । फरक स्वाद र शैली हुन्छन् । कसैलाई फिक्सन मन पर्छ । कसैलाई नन-फिक्सन । यो आ-आफ्नो रुचिको विषय होला । यद्यपि संसारमा मानिस मात्रै हो साहित्यको पारखी ।
१३. भर्खर मात्रै तपाईंलाई एउटा संस्थाले ‘राष्ट्रिय साहित्य सम्मान – २०८२’ बाट सम्मान गरेको छ । सम्मान र पुरस्कार पाउँदा कस्तो अनुभूति हुन्छ ?
– सबै लेखकले पुरस्कार / मान-सम्मान पाउने आशा राख्छन् भन्ने छैन । त्यसरी मान-सम्मान र पुरस्कारको अपेक्षा बोकेर लेख्नु पनि हुँदैन । कसैले लेखनको मुल्यांकन गरेर निस्वार्थ भावले पुरस्कार / सम्मान प्रदान गर्छ भने लेखकलाई स्वभाविक रूपमा खुसी र प्रोत्साहन मिल्छ नै । त्यो खुसी मलाई पनि मिल्यो जो शब्दातीत छ । मैले आजसम्म कोही-कसैलाई सम्मान र पुरस्कारका लागि प्रभाव पारेको छैन । पुरस्कार दाताको ढोकामा पुगेको छैन । म पुरस्कार र सम्मानकोपछि लागेर आफ्नो लेखन कमजोर पार्न चाहान्न । राम्रो लेख्न सकियो भने पुरस्कार / सम्मान दिने दाताहरू स्रष्टा खोज्दै आउँछन् । स्रष्टा धाउनु पर्दैन । यो मान्यतामा म दृढ़ छु ।
