नारायणगढ-बुटवल सडक अवरुद्ध, प्रहरीले तोक्यो वैकल्पिक मार्ग

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ५ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।

विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। बुधबार बेलुकी डाइभर्सन बनाएर सडक एकतर्फी खुले पनि बाटो चिप्लो भएका कारण गाडी विस्तारै गुडिरहेका र लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

खोलाको बेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ। त्यहाँ बनाइएको डाइभर्सन ६ पटक बगाइसकेको छ।

यस्तै बाटो चिप्लो र हिलो भएका कारण गाडीहरु फस्दा पनि समस्या हुने गरेको छ। त्यसैले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यसैगरी, दुम्कीबास-दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न अनुरोध गरिएको हो।

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ।

त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ।

पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ।

तपाईंको प्रतिक्रिया

थप खबर