मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० । नेपाल प्रहरीका आईजीपी दीपक थापासहित तीन एआईजीको अवकाश हुने दिन नजिक आउँदै गर्दा सिआइबी प्रमुख एआइजी चन्द्रकुवेर खापुङ भावी आइजीपी हुने करिब करिब निश्चित जस्तै भएको छ।
सरकारले चाहेमा उनी दुई महिनाका लागि आइजीपी हुने निश्चित भएको हो। लामो समय आइजीपी हुन नपाएपनि इतिहासमा नाम दर्ज हुने सम्भावनालाई टार्न सक्ने अवस्था नभएकाले उनको निश्चित जस्तै देखिएको प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।
प्रहरी ऐनमा कुनै फेरबदल नआएमा अबको ८ दिनभित्र आइजीपी थापा अवकाश हुँदैछन्। संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना समाप्त प्रायः हुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू भदौ १८ मा अनिवार्य रुपमा अवकाशमा जाँदैछन्। अझ कृष्णहरी शर्मा त भदौ १४ मै घर जाँदै छन्। शर्मा चाँडै घर जाने भएकाले खापुङलाई झन् सहज भएको छ।
उता २०५४ सालमा भर्ना भएका र आइजीपीको मुखमा रहेका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी र राष्ट्रिय अनुसन्धान विभागबाट आएका सिद्धि विक्रम शाहले आफ्नो शक्तिलाई परिचालन गर्न थालिसकेका छन्। खापुङपछि उनीहरुकै पालो भएकाले शक्ति केन्द्र परिचालनमा लागेका हुन्।
आईजीसहित तीन एआईजी गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका डीआईजीले एआईजी र एसएसपीले डीआईजी हुने छन्। यदि संसदमा विचाराधीन अवस्थामा रहेको नेपाल प्रहरी विधेयक २०८१ अध्यादेशबाट जारी भएमा वा प्रहरी सेवा नियमावलीमा संशोधन गरी ३० वर्षे अवधि हटाएमा भने भदौमा कसैलाई पनि तनाब हुँदैन।
त्यतिखेर २०५४ सालमा भर्ना भएका र अहिले एआइजीमा बहाल भई कात्तिकको अन्तिम साता आइजीपी हुने लाइनमा रहेकाहरुलाई तनाब उत्पन्न हुनेछ।