मिडियाबाजी डटकम काठमाडौँ, भाद्र १३ ।धनुषा। धनुषा जिल्लामा मोबाइल पसल फोडी करिब १० लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने तीन जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला धनुषाधाम नगरपालिका-८, केसरकट्टीका राजकुमार साहले सञ्चालन गर्दै आएको ‘राजकुमार मोबाइल पसल’मा २०८२ भदौ ६ गते बिहान करिब १ः४५ बजे चोरी भएको थियो । अज्ञात व्यक्तिहरूले पसलको शटरको ताला फोडी पसलभित्र प्रवेश गरी विभिन्न किसिमका ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च तथा नगद ९८ हजार ७ सय ६५ रुपैयाँ चोरी गरेका थिए । चोरी भएको सम्पत्तिको कुल मूल्य करिब १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनापछि अनुसन्धानका क्रममा पसलमा जडान गरिएको सीसीटीभी फुटेजको सहयोगमा भदौ ११ गते तीन जना आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । पक्राउ परेकासँगै उनीहरूको घर र लुकाएको स्थानबाट विभिन्न कम्पनीका १२ थान मोबाइल, घडी, क्यामेरा स्ट्यान्ड, मोबाइल चार्जर, लेन्सलगायत चोरीका सामग्री बरामद गरिएको छ ।पक्राउ परेकाहरूमा धनुषा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, सोही स्थानका १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन् । उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच, घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजतलास जारी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन् ।