देशको व्यापार घाटा १४ खर्ब नजिक, निर्यातमा ७७ प्रतिशतले वृद्धि

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ७ ।  चालु वर्षको ११ महिना (जेठ मसान्तसम्म) को अवधिमा निर्यात ७७ प्रतिशत र आयात १३ प्रतिशतले बढेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले आयात र निर्यातमा वृद्धि भएको देखाएको हो । 

चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा १८ खर्ब ९२ अर्ब ३६ करोड बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।  

देशको व्यापार घाटा करिब १४  खर्ब पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब बराबर रहेकोमा ६.३० प्रतिशतले वृद्धि हुँदा देशको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२  करोड  बराबर  पुगेको छ  । 

समीक्षा अवधिमा १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको पाम तेल तथा प्रशोधित तेल निर्यात भएको छ  । २६ अर्ब ४८ करोड रुपैयाँको धागो,१३ अर्ब ३ करोडको तयारी कपडा, १२ अर्ब ४४  करोडको चियाकफी र मसलाजन्य वस्तु निर्यात भएको छ । ११ अर्ब १५ करोड रुपैयाँको गलैँचा, ८ अर्ब ५९ करोड रुपैयाँको काठ तथा काठजन्य वस्तु, ७  अर्ब ५१ करोड रुपैयाँको पशुजन्य आहार, ७ अर्ब २६ करोडको फलफूलका बोट बिरुवा निर्यात भएको छ ।

कुल वैदेशिक व्यापारमध्ये १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ भने २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख  छ । अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले निर्यात बढेको छ भने १३।१५ प्रतिशतले आयात बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १४ खर्ब ५३  अर्ब ७० करोड रुपैयाँको आयात हुँदा १  खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको निर्यात भएको थियो । 

सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ, खाने तेल, बोइलिङ मेशिन, इलेक्ट्रिकल मेशिन, सवारीसाधन,फलाम तथा फलामजन्य वस्तु आयात भएको देखिन्छ । २ खर्ब ९५ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । दोस्रोमा १ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर